Declaration

याक्थुङ युवा मञ्च, प्रथम राष्ट्रिय परिषद् बैठक २०७५, सुम्हा?त्लुङ घोषणापत्र
(२०७५ माघ २५ र २६ गते प्रथम राष्ट्रिय परिषद् बैठक )
१. याक्थुङ युवा मञ्च संस्थागत विकास साथै मुख्य उद्देश्यको कामहरुलाई महत्वको साथ अगाडि बढाउने घोषणा गर्दछौँ । युवाहरुको चौतर्फी विकासको लागि युवाहरुलाई विचार, सङ्गठन र कार्यक्रमहरुसँग जोड्दै जानेछौँ ।

२, ऐतिहासिक पहिचानको आधारमा अरुणपूर्वको नौ जिल्ला सिमाङ्कन गरी स्वयत्ततासहितको लिम्बुवान प्रदेश घोषणा गर्न माग गर्दछौँ । तत्कालिन रुपमा प्रदेश नं. १ को नामाङ्कन घोषणा गर्दै गर्दा ‘लिम्बुवान’ नछुटोस् भनी जोडदार माग गर्दछौँ ।

३, लिम्बुवान क्षेत्रमा लिम्बू भाषा र किरात सिरिजंगा लिपि सरकारी कामकाजको भाषा र लिपिको रुपमा लागू गर्न साथै लिम्बुवान क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयहरुको साईन बोर्डमा किरात सिरिजंगा लिपि समावेश गर्न यो प्रथम राष्ट्रिय परिषद् बैठक जोडदार माग गर्दछ ।

४, नेपालमा आदिवासी जनजाति लगायत उत्पीडित वर्ग, क्षेत्रका विचार मिल्ने संस्थाहरुसँग विविध गतिविधिहरुमा सहकार्य गर्दै अगाडि बढ्ने घोषणा गर्दछौँ ।

५, नेपालपक्ष राष्ट्र भएकोले आईएलओ महासन्धि नं. १६९ र आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र पूर्ण रुपमा लागू गर्न, कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ ।

६, नेपाली समाजको संरचनालाई प्राकृतिक न्यायका आधारमा समान व्यवहार गर्ने, सबै भाषा, सबै संस्कृतिको सम्मान र समानताको साथ व्यवहार गर्न माग र आव्हान गर्दछौँ ।

७, लिम्बुवान भूमिको धार्मिक, सांस्कृतिक ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, समाधिस्थलहरुको संरक्षण, सम्वद्र्धन गर्न सम्बन्धित सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।

८, याक्थुङ युवाहरुलाई संसारको जुनसुकै स्थानमा रहेतापनि सामुहिक हितको लागि संस्था, सङ्गठनमा जोडिन्, सम्बन्ध कायम राख्न आव्हान गर्दछौँ ।

…………………………………………………………………………………………………………………………………………………………………

याक्थुङ युवा मञ्च
प्रथम महाधिवेशन
२०७५ जेठ ७ र ८ गते इलाम
घोषणा पत्र

1, याक्थुङ युवा मञ्च समुदायका युवाहरुलाई सङ्गठित र सक्रियताका साथ एकताबद्ध भएर, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा क्षमतावान बन्न प्रेरित गर्ने कार्यहरु गर्ने यो महाधिवेशन घोषणा गर्दछ ।

2,  देशको संविधान अन्तर्गत ऐन, नियममा नै युवा सशक्तिकरणका कार्यक्रममा समानुपातिक, सहभागीतामुलक व्यवस्था हुनु पर्ने जोडदार माग गर्दछौँ ।

3, राज्य व्यवस्थाका अङ्गहरु (निजामति कर्मचारी, सेना, प्रहरी)मा हाम्रो अधिक्तम उपस्थितिका लागि समुदायको सचेत, सजक र सक्रियताका लागि पहल गरिने यो महाधिवेशन घोषणा गर्दछ ।

4,  दक्ष जनशक्ति, समातामुलक समाज, कानुनी राज्य, विधिको शासन, सकरात्मक विभेद, स्थापित विचारहरुसँग समान विचार राख्ने छौँ ।

5, नेपालको राज्य संरचनामा पुनः सिमाङ्कन तथा नामङ्कन गरी अरुणपूर्व ९ जिल्लालाई ऐतिहासिक पहिचानको आधारमा स्वयत्ततासहितको लिम्बुवान राज्य हुनुपर्नेमा जोडदार माग गर्दछौँ ।

6,  याक्थुङ युवाहरु मौलिक भाषा, लिपि, संस्कृति, कला, विज्ञान, राजनीति, शिक्षा, साहित्य, धर्म आदिमा विशेषज्ञताका साथ सुयोग्य हुनुपर्ने र राज्यमा त्यस्तो नीति स्थापित हुनुपर्नेमा महाधिवेशन ठहर गर्दछ ।

7, युएनडिप घोषणापत्र र आदिवासी अधिकार सम्बन्धि महासन्धी आइ.एल.ओ. १६९ कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गर्दछौँ ।

8,  प्रकृति, जीवन, चिन्तन गतिशिल छन्, तसर्थ प्राणी र मानव जातिको उन्नतीका लागि दुनियासँग जानकार र एकताबद्ध हुनु पर्नेमा महाधिवेशन ठहर छ ।

9, मानव सभ्यताका प्रत्येक आयामहरुलाई जीवन्त राख्नुपर्छ । लिम्बुवान सभ्यता यसको अभिन्न अङ्ग हो भन्ने यो महाधिवेशन ठहर गर्दछ र लिम्बुवानको सभ्यता, पहिचान जोगाउन राज्यसँग जोडदार माग गर्दछ ।

10, आदिवासी लिम्बूहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले पारित गरेका समाजको लागि सकरात्मक नीति तथा कार्यक्रमहरुमा याक्थुङ युवा मञ्च समर्थन गर्ने घोषणा गर्दछ । तर नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सवालमा बाध्यकारी व्यवस्था अपनाए र नीति तथा कार्यक्रमहरुले समाज विभाजित भएमा त्यस्तो नीति तथा कार्यक्रहरुमा समर्थन जनाइन्ने छैन ।

11,  विचार, नीति, तथा कार्यक्रमहरु मिल्ने लिम्बूजन्य सङ्घ संस्थाहरुसँग समन्वय, सहकार्य गर्दै जाने घोषणा गर्दछौँ ।