याक्थुङ युवा मञ्चको छैटौँ स्थापना दिवस सम्पन्न : संस्थापक र संस्थापनकालका सहयोगीहरुलाई सम्मान वितरण

काठमाडौँ, जेठ ७ । आज याक्थङ युवा मञ्चको छैटौँ स्थापना दिवस ललितपुर चुम्लुङहिममा सम्पन्न भएको छ ।
स्थापना दिवसमा संस्थाको संस्थापक तथा संस्थापनकालको सहयोगीहरुलाई सम्मान वितरण गरेको छ ।
कार्यक्रममा संस्थापनकालका विशेष सहयोगी तथा प्रथम भेला आयोजक यमचन्द्र चेम्जोङ(तदर्थ समिति संयोजक समेत), लीला सिङ्गक र नरेश नेम्बाङलाई सम्मानपत्र प्रदान गरेको छ ।


यस्तै संस्थापकहरुमा अध्यक्ष राजकुमार यक्सो, उपाध्यक्ष प्रदिप योङहाङ, सचिव भूपेन्द्र खुदाङ, सहसचिव विष्णु सिङ्गक, कोषाध्यक्ष निर्मला लिम्बू, सदस्य बसन्तसिङ् खापुङ र शैलेन्द्र थेबेलाई सम्मान गरेकोछ । साथै संस्थापनकालको आर्थिक सहयोगी दिनेश योङहाङ, लोकेन साँवालाई पनि धन्यवादपत्र वितरण गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति युवा महासङ्घ नेपालको सङ्घीय उपाध्यक्ष साङ्गे शेर्पा, विशेष अतिथि कियाचु अध्यक्ष योगराज वनेम, अतिथिहरु किरात राई युवा सङ्घको अध्यक्ष सन्जय राई, लिम्बू विद्यार्थी महासचिव उत्सव सम्बाहाङ्फे लगायतको विभिन्न संस्थाको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।


समुदाय स्तरबाट युवा पक्षबाट वकालत गर्ने सङ्गठित सामाजिक संस्था याक्थुङ युवा मञ्चको २०७१ जेठ ७ गते स्थापना भएको थियो । तात्कालिन अवस्थामा समुदायको युवाहरु पहिचान, अस्तित्वको लागि गरिन्ने हरेक गतिविधिमा सङ्गठित ढङ्गबाट अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यको साथ सुरु भएको थियो ।
किरात याक्थुङ चुम्लुङको तत्कालिन महासचिव लीला सिङ्गक, पूर्व कियाचुको सचिव यमचन्द्र चेम्जोङ र आदिवासी जनजाति युवा महासङ्घको तात्कालिन सचिवालय सदस्य नेत्र बहादुर नेम्बाङ (नरेश)ले प्रथम भेला २०७१ जेठ ७ गते आयोजना गरेको थियो । उक्त भेलाको नाम ‘लिम्बू युवा भेला’ थियो । सोही दिन १३ सदस्यीय समिति बनेको र २०७३ भाद्र १३ गते सम्म आइपुग्दा संस्था दर्ता गरी संस्थागत औपचारिकता लिएर अगाडि बढेको आयोजकले जनाएको छ । विधानत संस्था दर्ताको पदाधिकारी र सदस्यहरु संस्थापक हुने प्रावधान भएकोले सोही बमोजिम संस्थापकहरु निधारण भएका छन् ।

याक्थुङ युवा मञ्च सङ्गठन निर्माण हुनु पूर्व दुई फरक फरक समयमा युवाहरुको सङ्गठन निर्माणको अभ्यास भएको देखिन्छ । २०५८ सालमा अध्यक्ष ङामुकहाङ मेन्याङबो, महासचिव आइन्द्र सुन्दर नेम्बाङ, दिलेन्द्र कुरुम्बाङ, शंकर लिम्बू, अमर तुम्याहाङ आदि व्यक्तिहरुले ‘लिम्बुवान युवा परिषद्’ गठन गरेका र गठन पश्चात लिम्बुवान स्वायत्तताको कुरा गर्दै २०५८ असोज १० गते एउटा पर्चा समेत प्रकाशन गरी वितरण गरेको देखिन्छ ।
यसपछि पनि २०६० साल तिर राम मादेन, डि वि आङबुङ, अमर तुम्याहाङ आदि अग्रज व्यक्तिहरुले लिम्बुवान युवा सङ्घ नामक सङ्गठन गरी लिम्बुवानको विषयमा युवाको क्षेत्रबाट आवाज उठाउने उद्देश्यले सङ्गठन निर्माण भएको जानकारी दिएका छन् । यसरी हेर्दा याक्थुङ युवा मञ्च गठन पूर्व पनि विभिन्न समयमा अभ्यासहरु भएको पाउन सकिन्छ।

याक्थुङ युवा मञ्चले गत वर्ष जेठ ७ गते आजकै दिन इलाममा आफ्नो प्रथम महाधिवेशन सम्पन्न गरेको थियो । हाल ८ जिल्लामा सङ्गठीत युवा मञ्चले युवाहरुको पहुँच निर्माणको लागि लोकसेवा तयारी कक्षा देखि विभिन्न अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको छ र यही जेठ २४ र २५ गते नाचघरमा याक्थुङ ज्ञान महोत्सव आयोजना गर्दैछ । ‘बौद्धिक ज्ञान आदान प्रदान र पुस्तान्तरणको लागि’ यो कार्यक्रम आयोजना गर्न लागिरहेको मञ्चले जनाएको छ । ०

तपाईको प्रतिक्रिया