भाषा आयोगको आयोजनामा बैशाख १९ गते सरकारी कामकाजको भाषा निर्धारक विषयक प्रादेशिक भाषा गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको अवसर पारेर लिम्बुजन्य विभिन्न संस्थाले किरात याक्थुङ चुम्लुङ इलाम मार्फत भाषा आयोगलाई सरकारी कामकाजको लागि लिम्बू भाषालाई सिफारिस गर्न माग समेत गरेको छ ।
चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमले लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउँन सकिने २७ बुँदे आधार पत्रलाई आयोगका अध्यक्ष लवदेव अवस्थीलाई बुझाउँदै लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रूपमा सिफारिस गरिदिन आग्रह गरिन् ।
किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम, लिम्बु बिद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङ, याक्थुङ युवा मञ्चका अध्यक्ष भीम योङहाङले हस्ताक्षर गरेको माग पत्रमा लिम्बु भाषालाई भाषा आयोगले निर्धारण गरेका सबै आधार भएकोले सरकारी कामकाजको भाषा बनाउन सकिने भन्दै सो माग पत्र बुझाइएको बताइएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईला, भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, जिल्ला सम्वनय समिति प्रमुख गणेश बराल, इलाम नगरपालिकाका उपप्रमुख शुशिला नेम्बाङ्ग लगायत बोलेका थिए ।