लिम्बू युवाहरुको बीच मैत्रीपूर्ण समझदारी कायम राख्दै न्याय, समानता, स्वाधिनता, पहिचान, अस्तित्वको सवालमा युवा क्षेत्रबाट वकालत गर्ने सङ्गठित याक्थुङ युवा मञ्चले विभिन्न कार्यक्रमहरुमा आफूलाई सक्रियता प्रदान गर्दै अगाडि बढिरहेको छ ।
विश्व युवा दिवसमा युवाहरुलाई आदिवासी पहिचान र अधिकारको सवालमा अन्तरक्रिया गरेको थियो । लिम्बू समुदायले मान्दै आएको विभूतिहरु त्येअङ्सी सिरिजङ्गा थेबे, समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेन, इतिहासकार इमानसिं चेम्जोङको जन्मजयन्तीको अवसरमा रेडियो बहस र अन्तरक्रिया कार्यक्रमहरु किरात याक्थुङ चुम्लुङ र लिम्बू विद्यार्थी मञ्चसँग सहकार्य गर्दै कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यस्तै लिम्बूहरुको महान चाड चासोकको सन्दर्भमा उपत्यकामा भएको कार्यक्रममा आयोजकको रुपमा तङसिङ कार्यक्रमदेखि हात्तिवनको मेला आयोजना सम्म कार्यक्रम गरेको थियो भने जिल्ला कार्यसमितिहरुले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको थियो ।
पहिचान र अधिकार सवालमा प्रदेशको नामाङ्कन पहिचानको आधारमा हुनुपर्छ भन्ने माग, आदिवासी विदा कटौति पुनःस्थापित गराउन सरकारलाई दबाव दिने सवालमा लगायत आदिवासी अधिकारको पक्षमा भएको हरेक गतिविधिमा संस्थागत सहभागिता र सक्रियता दिँदै आइरहेको छ ।
यस्तै युवा सशक्तिकरणको सवालमा लोकसेवा अभिमुखिकरण कार्यक्रम लगायत सचेतना सम्बन्धी विविध अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ ।०