मेन्छ््यायेम डाडा र लिम्बू जातिको छेलो हान्ने (पक्लुङ् लेप्मा)खेल

 

बैरागी काइँला

१. पृष्ठभूमि ः
१.१. छेलोहान्ने खेल ः लिम्बुहरूको जातीय खेल
लोकवार्ताका विविध अङ्गहरूमा लोकसंस्कृति, मिथक, लोकगीत र नृत्य, लोकबाजा र लोकसाहित्यमात्र होइन लोक खेलकूद पनि प्रमुख हुन्छन् । मुन्धुम्, ंपालाम र हाक्पारे आदि लोकगीत, च्याब्रूङझैं लोकबाजा तथा च्याब्रुङ नाच र धाननाचझैं लोकनृत्य लिम्बूजातिलाई चिनाउने उसका जातीय संस्कृति हुन् । त्यसरी नै शारीरिक फूर्ति र सुगठनका लागि खेलकुूदमा चासो र रुची राख्ने लिम्बू जातिमा छेलो हान्ने (पक्लुङ् लेप्मा) खेलकूदको धार्मिक र सांस्कृतिक महत्व ठूलो छ । आदिम कालदेखि निरवछिन्नरुपमा प्रचलित छेलो हान्ने खेल (क्जयचतउगत) किरात लिम्बूको जातीय खेल हो । आजको समयमा भने सामाजिक—सांस्कृतिक सन्दर्भमा धार्मिकतापूर्वक अनुष्ठानमा सीमित पक्लुङ् चाःङ्मा÷लेप्मा (ढुङ्गाको छेलो हान्ने) खेलको मुन्धुम् सारांशमा प्रस्तुत गर्र्दै यसलाई राष्ट्रिय खेलमा विकसित गर्ने धारणा यो छोटो लेखमा अघि सारिएको छ ।

१.२. मेन्छ््यायेम डाँडामा गरिने दुईओटा अनुष्ठान
लिम्बूजातिको तीनराते तङ्सिङ मूुन्धुम् (तङ्सिङ तक्मा मुन्धुम्) को अनुष्ठान गायन गरिंदा मेन्छ््यायेम (तरुनी उभेको डाँडा)को सुन्दर वर्णन् आउँछ । यसरी मुन्धुम् तङ्सिङ मुन्धुम्को गायन गरिंदा मेन्छ््यायेम डाँडामा कथा पुगेपछि गायन—वाचन स्थगित गरिन्छ । परापूर्व कलमा तन्देरी र तरुनीहरू, किशोर—किशोरी आआफ्ना प्रिय सँगी—साथीहरूसँग यहाँ भेला भएर बैंस र जोबन खेलाउँन वा हास्ने—खेल्ने, शक्ति र शौर्यका लागि छेलो हान्ने यो मनोरम तरुनीहरू उभेकोे डाँडा अथवा यौवनको पवित्र पहाडमाथि विश्राम गर्दै जाँड—पानी खाँदै मुन्धुम्को अमर गायक केवाफूङ्बाले परापूर्व कालमा थालनी गरेको गायन परम्परालाई निरन्तरता दिंदै हाःक्पारे लयमा रमाइला गीतहरू आज पनि कुर्लिंदै साम्बा र येबाहरूले गाउँछन् । विश्रामपछि मेन्छ््यायेम डाँडाको समथरिलो भूमिमा परिवारभित्रका विशेषतः किशोरीहरूका लागि शारिरिक सुगठन, दीर्घायु, सुस्वाथ्य, शक्ति र शौर्य, बौद्धिक तथा मानसिक क्षमता अभिवृद्धि र सदा उँचो शिर राख्नका लागि (१) फुङ्वा चाःङ्मा (फूल झरिलो हुने गरी फुलाउने) र युवाहरूका लागि (२) पक्लुङ् चाःङ्मा (ढुङ्गाको छेलो मच्चाउने÷हान्ने) खेलको दुईओटा अनुष्ठानहरू गरिन्छन् ।

२. छेलो ढुङ्गाको मिथक
धार्मिक महत्व पनि अत्यधिक भएको छेलो हान्ने खेलको उत्पत्तिका बारेमा लिम्बूजातिको तङ्सिङ् मुन्धुमअन्तर्गतको सृष्टिवर्णन्मा विस्तृत वर्णन (बैरागी काइँला, सयपत्री ः ३ ः१—२ ः १५५—१८०) पाइन्छ । तीनराते पूजा—अनुष्ठान (बैरागी काइँला ः तङ्सिङ् तक्मा मुन्धुम् ः २०५२ ः १७२—१९८) गरिंदा पनि यस मिथकको पुनरावृत्ति गरिन्छ । मिथक यस्तो छ ः— उहिले मानिसको सृष्टि गर्न खटिएका पोरोक्मी यम्भामिबा देवतालाई विश्वब्रह्माण्डको सृष्टि गरेपछि नाङ्गोे र उदाङ्गो धरती मन परेन । भगवान तागेरा निङ्वाभुमाबाट पाएको अर्ती–उपदेशअनुसार पृथ्वीलाई सुन्दर तुल्याउन चीन—भोट (उत्तर दिशा) र चारैदिशा डुल्दै वनस्पति र रुखपातको बीउ—बिजन खोजेर काँधका दुवैतिर छड्के भिरेको सुनाखरीको जाबेभरि ल्याएछन् । त्यसपछि पृथ्वीमा सर्वत्र छरपोख गरेछन् तर दिन, महिना, वर्ष बित्दा पनि नउम्रेकाले दुःखित पोराक्मी यम्भामिबाको आँखाबाट झरेका आँसुको बलिन्द्र धाराले भिजेका केही बीउ–बिजन भने उम्रिए छन् । तिनमा सिस्नुको बोटलाई सृष्टिको पहिलो पोथ्रा–रूख भनेर मानिन्छ ।
छरेको बीउ नउम्रिएको चर्को घामले खडेरी परेकाले रहेछ भनी बुझेपछि बुद्धि—विवेकशून्य पोरोक्मी यम्फामिबाले तागेरा निङ्वाफुमाकोमा विन्ती चढाएछन् । दया—मायाको मूर्ति तागेरा निङ्वाफुमाको पाउको बूढी औंला सिरानी बनाई सुतेका पोरोक्मी यम्फामिबाले सपनामा दीव्य–ज्ञान र अति—उपदेश पाएछन् । भगवानको दीव्य–ज्ञान र अति—उपदेशअनुरुप उत्तरदिशाको सिफाक्जङ् तिगेन्जङ्मा पुगेर त्यहाँका आदिम मानव जाति खाम्बोङ्बा लुङ्बोङ्बाहरुसँग बज्रझैंं कठोर, नफुट्ने ढुङ्गा छेलो हान्नका लागि मागेछन् । सिफाक्जङ् (फाकसेरा) तिगेनजङ्को डाँडाको मैदानमा खेली हिंड्ने, उफ्री हिंड्ने तिनीहरू सारै वामपुड्का र साना गाँठीका हुनाले बाख्राको बर्कौलाले नै भारी पुग्थ्यो तिनलाई त । तिनीहरू त बाबरीको फूलको बोटमा मात्र चढी हिंड्ने, खोर्सानीको बोटमा पनि झटारो हान्नपर्ने, सिस्नुको फेदमा खोजी खाई हिंड्थे । पानी पर्दा बाँसको पातमा ओत लाग्थे तथा उन्यूको डाँठको दाउरा मात्र ढाल्न सक्ने डालका थिए तिनीहरू । छेलो हान्ने ढुङ्गा माग्दा ती खाम्जिरी खाम्बोङ्बा लुङ्जिरी लुङ्बोङ्बा मान्छेहरूले घाम, तारा र जूनहरूलाई पञ्चभलाद्मी राखेर “साँध नकटाएमा हान्नेको शिर ढल्ने तथा छेलोढुङ्गा चोइँटिएमा परन्तुमा मानिस जातिलाई पिर्ने अनेक देव–देवता र ग्रहदशाहरू उत्पन्न हुने” (बैरागी काइँला ः तङ्सिङ् तक्मा मुन्धुम् ः२०५२ ः १७२—१९८÷छेलो हान्नु , ९—१२) जस्ता ज्यानको वाचा आदि गराईकन मात्र दिएअरे भन्ने मुन्धुम्मा मिथकीय आख्यान छ ।

३. छेलो ढुङ्गा र दशाग्रहको जन्म
पोरोक्मी यम्भामिबाले कठोर वाचा—बन्धन गरेर मात्र पाएको छेलोढुङ्गा शून्य आकाशमा प्रहार गर्दा पानीका घैंटो त फुट्यो, साथैमा प्रचण्ड आँधी–बतास, हुरी–हुण्डरी चलेर आठ दिन– नौदिन (धेरै धेरै दिन) अविरल वर्षाले पृथ्वी जलाम्मे भएर छरेका बीउ–बिजन पनि उम्रिए । हरिया वनस्पति र रूख–पातले हरियाली छाएर पृथ्वी जीवन्त र सुन्दर भयो । तर मानिसजातिको दूर्भाग्यले छेलोढुङ्गा आफै पनि फुटेर आकाशमा, जून र घाममा, तारामण्डलमा, पृथ्वीमा, पूर्व र पश्चिम, उत्तर र दक्खिन, रूख—पातमा, खोलानाला र डाँडाकाँडा चारैतिर छरिंदा पश्चिम र दक्खिन दिशामा खसेका छेलोढुङ्गाको टुक्रा अशुभ गर्ने देवी—देवताहरू, ग्रहदशा र अभिशापहरूको जन्म भयो । पूर्व दिशामा खसेका टुक्राहरू देवी—देउताहरूका प्रतीक र उत्तर दिशामा सोधुङ् लेप्मुतेम्बेमा खसेको टुक्रालाई लेप्मुहाङले सावा येत्हाङ् पाङ्भे अर्थात संसारमा फ्याँकिदिएकाले पृथ्वीमा खस्न गएकाले मान्छेको जीवनमा शुभलाभ दिने अर्थात् सावा येत्हाङ्को शारिरिक स्वस्थता, शक्ति र शौर्यको प्रतीक तुम्म्याङ्हाङ् पक्लुङ् (मान्छेको छेलो ढुङ्गा) भयोे ।

४. छेलो हान्ने खेल ः धार्मिक र सांस्कृतिक परम्परा
सावा येत्हाङ्का दरसन्तान लिम्बू जनजातिले ग्रहदशाबाट मुक्ति र स्वस्ति—शान्तिका लागि आज पनि हरेक वर्ष नसकेमा तीन वर्षमा एकपल्ट तीनराते तङ्सिङ्को अनुष्ठान गर्दछन् । यस अवसरमा लिम्बू पूरुषवर्गको दीर्घायु, सुस्वास्थ्य, धन र अन्नलाभ, शत्रुदमन र शिर ठाडोे राख्न पक्लुङ् मुन्धुम्का् गायन—वाचन साम्बा र येबाहरूले गर्दछन् ।
उहिले पोरोक्मिबा यम्फामिबाले वामपुड्का मानव—देवताहरू (खाम्बोङ्बा लुङ्बोङ्बा)बाट छेलोढुङ्गा माँगेर ल्याई महाशून्यमा प्रहार गर्दा महाविष्फोट (द्यष्न द्यबलन० भई बृष्टि भएर सृष्टिको निरन्तरता सहज हुन सकेको मिथकसँगै ढुङ्गा फुटी जन्मेका अनिष्टकारी देवी देवता र ग्रहदशाले मानवजीवन दुःखदायी बनाएको मानवीय दूर्भाग्यको मिथक नयाँ विम्ब, प्रतीक र भाषामा तीनराते तङ्सिङ्को अनुष्ठानका बेला पुनर्मञ्चन (च्भउबिथ) गरिन्छ अर्थात घरको मूली र अन्य पुरुष सदस्यहरूबाट विधिपूर्वक पक्लुङ् (छेलो) हान्ने अनुष्ठान (सम्पन्न गरिन्छन् । पक्लूङ् मुन्धुम्का् गायन—वाचनसँगै त्यसबखतमा जो जो किशोर—किशोरीका नाममा अनुष्ठान गरिने हो, साइनो र उमेरको ज्येष्ठताको क्रमानुसार पूजा गरेको अभिमन्त्रित पक्लुङ् (छेलोढुङ्गा) हान्ने अनुष्ठान सम्पन्न गरिन्छ । अनुष्ठान गरिंदा उपकारीले पूजास्थल नजिकै आँगन (अर्थात मेन्छ््यायेम डाँडा) मा छेलो हान्दछन् । छेलो हान्दा राखेको साँध पहिलो पटकमै कटाउन सके शुभसूचक मानिन्छ । पहिलो पटक साँध नकटेमा जबसम्म साँध कट्दैन तबसम्म छेलो हान्ने काम गरिन्छ ।

५. लोकपरम्परा र विचलन
लोकसंस्कृति समयसँग परिवर्तन हँुदै पनि जान्छ । परिवर्तनशील समयको प्रभावबाट मुन्धुम् र छेलो हान्ने मिथकीय आख्यान र अनुष्ठान पनि मुक्त रहेनन् । झन् गोर्खालीको विजयपछि विगत २३० वर्ष यताको अवधिमा अन्य जातजाति र तिनको धर्म—संस्कृतिको सम्पर्कमा आएकाले गर्दा लिम्बूजातिको धार्मिक र सांस्कृतिक जीवनमा विचलन निकै आएको पाइन्छ । उदाहरणका लागि काँचो रुपैञा (अयष्ल) उफार्दै फेदाङ्मा, साम्बा र येबा÷येमाबाट चित—पोट गर्दै जोखना हेर्ने अथवा छेलोढुङ्गा हान्नु लाउनको सट्टामा छेलो हानेको प्रतीकात्मक खेल खेलिन्छ । काँचो रुपैञा चित भए साँध नाघेको र पोट भए ननाघेको फेदाङ्मा अथवा साम्बा र येबाहरूबाट ठानिन्छ । छेलो हान्दा साँध ननाघेमा हान्नेका लागि अशुभ हुनेहुँदा काँचो रुपैञा चित नपल्टेसम्म (साँध न कटेसम्म) पुजारीले मन्त्र फलाक्दै उफारी रहन्छ । फेदाङ्मा अथवा साम्बा र येबाहरूले अनुष्ठानकर्ता वा उपकारी पुरुष सदस्यकालागि शारिरिक सुगठन, सुस्वास्थ्य, शत्रुदमनका अतिरिक्त सबैका लागि स्वस्ति—शान्ति, वर्षा, धनधान्य र अन्नपातको सह एवम् सन्तान प्राप्तीको प्रार्थना गर्दछन् । समयको लामो अन्तरालमा समाजमा आएका र भएका परिवर्तनले प्रभाव पारेको भएपनि मुन्धुम्भित्र निहित मिथकीय आध्यस्वरुप अक्षुण्ण रहेकै छ ।

६. मेन्छयायेम् डाँडा र ओलिम्पस पर्वत
यहाँ पोरोक्मी यम्फामिबा देवता र ग्रिक देवता जिउसको चर्चासँग मेन्छयायेम् डाँडा र ओलिम्पस पर्वतमालाको तुलना रमाइलो हुनसक्दछ । साहित्य र सङ्गीतका प्रेमी ग्रिक निवासीले सर्वप्रथम देवता जिउसको सम्मानमा ईशापूर्व ७७६ मा स्वर्गसमान सेसालीको ओलिम्पस पर्वतमा दौडने, उफ्रने, घोडा कुदाउने र रथ कुदाउनेजस्तां प्रतिस्पर्धात्मक खेलकूदको आयोजना गरेका थिए । ग्रिकबासी युवाहरूले शारिरिक गठन र शक्ति तथा बौद्धिक एवम् मानसिक क्षमतामा सारै ध्यान दिने गर्दथे । देशका हरेक नगरमा खेलकुद आयोजना गरेर विजयीहरूलाई चार—चार वर्षमा ओलिम्पस पर्वतमालामा आयोजना गरिने ओलिम्पिक खेलकूद प्रतिस्पर्धामा सहभागी गराइन्थ्यो । ग्रिकहरूले शुरु गरेको यो खेलकूदलाई आजपर्यन्त ४÷४ वर्षको फरकमा एथेन्सबाट सन् १८९६ देखि ओलिम्पस पर्वतमा मात्र सीमित नराखी अब त विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय समितिद्वारा ओलिम्पिक खेलको नाममा आयोजना गर्ने गरिन्छ । कृषियुगमा प्रवेश गरेका लिम्बूजातिलाई सिंचाईको विज्ञान दिने वर्षाको देवता पोरोक्मी यम्भामिबाले वर्षाको लागि छेलो हानेको अल्गो यो मेन्छ्यायेम डाँडामाथि नै हो । छेलो हान्ने पोरोक्मी यम्भामिबा नै पहिलो र आदिम खेलाडी (कउयचतकmबल) पनि थिए । मेन्छ्यायेम डाँडाको अर्को विशेषता के थियो भने उहिले तरुणी र तन्देरी यहाँ भेला भई धाननाच्ने र पाल्लाम् गाउने गर्दथे भनिन्छ । तर पे्रमीहरूको रमाइलो र सुन्दर यो डाँडा माया—प्रीतीको लागि मात्र होइन आदिम लिम्बू जातिको शारिरिक शक्तिको प्रदर्शन गर्ने थलो र खेलकूदप्रतिको प्रेम र चासोको प्रतीक पनि थियो र हो ।

७. उपसंहार
वर्षाको देवता र सृष्टिकर्ता पोरोक्मिबा यम्फामिबाले छेलो हान्दा टुक्रेर खसेको पक्लुङलाई उहिले सावा येत्हाङले दैवी शक्तिको अजेयस्रोत, शत्रुदमन, सफलता र समृद्धि अनि सिद्धिप्राप्तिका लागि “तुम्म्याङहाङ् पक्लुङ्” नाम दिएर घर—घरमा प्राणप्रतिष्ठापन गरी राखेको मुन्धुम आज पनि जीवित छ । हात—हतियारले मान गरेर, अदुवा, खोर्सानी, सिधे नून, लासो, साप्तोक्, फूलपात भरेको कलश(हाङ्गप्पा)लाई पागा (फेटा)ले बेरेर पूजा—अनुष्ठान गरी शक्ति, शौर्य, समृद्धि तथा सिद्धि प्राप्तिका लागि दैवीशक्तिको स्रोत मानेर आजसम्म फेदाङ्मा, साम्बा र येबाहरूले अनुष्ठान कर्ताहरूलाई छेलो हान्न लगाउँछन् । छेलोहान्ने खेल र खेलको महत्व उच्च भएको मुन्धुमले नै प्रष्ट पारेपनि लिम्बूजातिमा छेलो हान्ने खेलको आजभोलि शारिरिक सुगठन र स्वस्थता र शत्रुमाथि विजयको लागि धार्मिक र अनुष्ठानिक अर्थ मात्र बचेको पाइन्छ ।
लिम्बूजातिको सामाजिक र सांस्कृतिक जीवनचर्या भित्रका हाटबजार, विहेबटुलो वा कुनै शुभ उपलक्ष्यमा भेला हुँदा पनि शारिरिक शक्तिको प्रदर्शन र मनोरञ्जन गर्न छेलो हान्ने चलन हिजोअस्तिसम्म नै विद्यमान थियो । लक्का जवानहरू मात्र नभई बूढापाकासमेत यो खेलमा रौंसिंदै सहभागी हुन्थे । तर संस्कृति र परम्परामा पराइको संस्कृतिको अतिक्रमणले विचलन ल्याएर लिम्बूहरूमा यो खेल लोप हुँदै गइरहेको भान हुन्छ । कुनै जातिको अस्तित्व रक्षाका लागि उसले आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा बचाउन पर्दछ । यसका लागि आफ्नो जातीय पहिचानका रूपमा रहेका यस्ता मौलिकतालाई बेलैमा संरक्षण गर्नपर्दछ । कम्तिमा पनि वर्षमा एकपटक लिम्बूहरूले आफूभित्र राष्ट्रियस्तरमा छेलोहान्ने खेलको प्रतिस्पर्धा गर्नु, पुरस्कृत गर्ने परम्परा थाल्नु राम्रो हुने हो । यस्ता काममा लिम्बूहरूको जातीय संस्था चुम्लुङहरूको अग्रसरता र सक्रीयताले प्रभावशाली भूमिका खेल्दछ । आज समय र युग सुहाउँदो तरिकाले सुधार गर्दै यसलाई खेलकूदको रूपमा विकसित र स्थापित गर्नु आवश्यक देखिन्छ । लिम्बूजातिको जातीय छेलोहान्ने खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा स्थान दिलाउन सबै लिम्बूहरूले समयमै सोच नपुर्याएमा यसको सांस्कृतिक महत्व गौरवशाली परम्परालाई अर्कै राष्ट्र र अरु नै जातजातिले अपहरण गरी लान पनि बेर छैन । ०००
स्रोत ः ( मधुपर्क, असोज,२०५९, पूर्णाङ्क ४००, वर्ष ३५, अङ्क ५ पृ.८१—८५ मा प्रकाशित )

तपाईको प्रतिक्रिया