दमक । लिम्बू युवाहरुको साझा संस्था याक्थुङ युवा मञ्च झापाको प्रथम अधिवेशन माघ ५ गते दमक, झापामा सम्पन्न भएको छ । अधिवेशनले झापा शिवसताक्षी–१ का शिक्षा उद्यमी तथा समाजसेवी युवा प्रेम सेर्माको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
दुई वर्षे आगामी कार्यकालको लागि द्वयउपाध्यक्षमा बसन्त लिम्बू र मीरा लिम्बू, सचिवमा देवीबहादुर (प्रताप) निङलेकु, सहसचिवमा सन्त सेर्मा, कोषाध्यक्षमा दिपा थलङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सङ्गीतकर्मी टङ्क लिम्बू, बिक्रम लिम्बू, भीम तुम्याङहाङ, नुङहाङ, निङसो लिम्बू, दिपकर सेनेहाङ, झरना लक्सम, पप्पु लिम्बू, रुपा सेलिङ, रचना लिम्बू सेर्मा र टार्जन लिम्बू रहेका छन् ।
अधिवेशनको बन्द सत्रले झापाका पुराना राजनितिकर्मी शिवकुमार योङयाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा रङ्गकर्मी तथा लेखक विक्रम वनेम लिम्बू, सन्त फेवाउदेन लिम्बू, नन्दराज योङ्या, साबित्रा सेनेहाङ, छबिमाया निङलेकु, हर्क लिङदेन र लक्ष्मी योङहाङ छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष महेश्वर हुक्पाचोङबाङले लिम्बू युवाहरुको शिक्षा, सीप, कला, क्षमता, सृजना र नेतृत्वदायी भूमिकामा प्रस्तुत गर्न याक्थुङ युवा मञ्च गठन भएको बताए । उनले यो गैरनाफामुलुक र विशुद्ध सामाजिक संस्था भएको स्पष्ट पारे । प्रदेश १ को नौ जिल्लाहरुमा मञ्च विस्तार भएको बताउँदै केन्द्रीय उपाध्यक्ष हुक्पाचोङबाङले मञ्च गठन भएका जिल्ला समितिले रचनात्मक तथा सृजनात्मक गतिबिधिहरु सञ्चालन गरिदै आइरहेको बताए ।
कार्यक्रममा बरिष्ठ रङ्गकर्मी बिक्रम वनेम, किरात धर्म साहित्य उत्थान सङ्घ झापाका अध्यक्ष शिवकुमार योङया, युवा नेता सन्त फेवाउदेन मन्तव्य राखेका थिए । कार्यक्रममा याक्थुङ चुम्लुङ शिवसताक्षी नगर अध्यक्ष वीरबल जबेगू लिम्बू, हर्कराज निङलेकु लगायतका अतिथिहरुको उपस्थित रहेको थियो ।०